Welcome to ACADEMIC DIARY
ADवि.सं.:

Teachers and Dignity, the Definition itself has Changed

Comments:1Readers Count:4

 शिक्षक मर्यादा परिभाषा नै बदलिएको

https://www.shikshakmasik.com/uploads/news/News-20190919090419380.jpg

     ओशो

आधुनिक शिक्षक कस्तो हुनुपर्छ ? प्रश्न महत्पूर्ण छ, तर यसको उत्तर दिन भने सजिलो छैन । किनभने आजभन्दा अगाडि संसारमा शिक्षक छँदै थिएनन् । शिक्षकको उपस्थिति नै आधुनिक कुरा हो । शिक्षकको काम व्यवसाय भएको नै आधुनिक सभ्यतामा हो । पहिला पनि गुरुहरू थिए, तर तिनीहरू आधुनिक शिक्षकहरूभन्दा निकै भिन्न थिए । शिक्षण उनीहरूको पेशा थिएन, उनीहरूको आनन्द थियो । अहिलेको संसारमा शिक्षण व्यवसाय बनेको छ । त्यसको परिणाम के भएको छ भने शिक्षण संस्थाहरू फ्याक्ट्री र कारखानाहरू जस्ता भएका छन् ।

सबै ठाउँका शिक्षकहरूको एउटा साझा समस्या छः विद्यार्थीहरू उनीहरूलाई आदर गरिरहेका छैनन् । भनिन्छः पहिले यस्तो थिएन । तर वास्तवमा पहिला जसले आदर प्राप्त गरेको थियो, ऊ शिक्षक थिएन गुरु थियो । शिक्षक निकै नै भिन्न कुरा हो । शिक्षकलाई आदर प्राप्त हुन सक्दैन । उसले आदर पाउने आकाङ्क्षा नै छोडिदिनु पर्छ, होइन भने गुरु हुने हिम्मत जुटाउनु पर्छ । गुरुलाई आदर गर्नु पर्छ भन्ने कुरा पनि होइन । कुरो उल्टो छ । जसलाई आदर न गरिकन धरै छैन, जसले हराम्रो आदरलाई तानेरै लिन्छ, त्यसलाई नै हामी गुरु भन्दछौं । तर शिक्षकको कुरा बेग्लै हो । शिक्षकले काम नै अलिकति बेग्लै गरिरहेको छ ।

गुरु त्यो हो, जसले कसैको आत्मालाई ब्यूँझाउन सक्छ, कसैको व्यक्तित्वलाई गरिमा प्रदान गर्न सक्छ, उस भित्रको नफूलेको फूल फुलाई दिनसक्छ । शिक्षक भने सूचना र जानकारी बाँड्ने वाहनको काम गर्छ र विदा हुन्छ । पुराना पिँढीहरूले आर्जन गरेको ज्ञानलाई नयाँ पिँढीसम्म जोड्ने काम मात्र गर्छ । ऊ माध्यम मात्र हो ।


अब परिस्थिति फेरिएको छ र शिक्षकले विनयी हुनुपर्ने भएको छ । सारा विद्यार्थी शिक्षकको अविनयी प्रवृत्तिको विरूद्धमा छन् । अब शिक्षण संस्थाको केन्द्र शिक्षक हैन, विद्यार्थी हुनेछन् ।


जिससको मृत्युपछि लगभग साढे अठार सय वर्षमा मनुष्य जातिको ज्ञान जति बढेको थियो, त्यति नै ज्ञान गएको डेढसय वर्षमा बढेको छ र गएको डेढसय वर्षमा जति ज्ञान बढेको थियो, त्यति नै ज्ञान पछिल्लो पन्ध्र वर्षमा बढेको छ । जति ज्ञान बढ्नलाई साढे अठार सय वर्ष लाग्दथ्यो, त्यति ज्ञान अहिले पन्ध्र वर्षमा बढिरहेको छ । यसको एउटा धेरै गहिरो परिणाम हुनु स्वाभाविक छ । आजभन्दा दुई सय वर्ष पहिले बाउ सधैँ छोराभन्दा बढी जान्दथ्यो, गुरु सधैँ चेलाभन्दा बढी जान्दथ्यो, आज त्यसो हुनु जरूरी छैन । सम्भावनाहरू आज बिल्कुल बदलिएका छन्, किनभने बीस वर्षमा एउटा पुस्ता फेरिन्छ, बीस वर्षमा नयाँ ज्ञानको ठूलो विष्फोट हुन्छ र बीस वर्ष पहिले शिक्षित भएको व्यक्ति अहिले आफ्नो विद्यार्थीभन्दा पनि पछाडि पर्छ ।

पहिला सारा ज्ञान अनुभवबाट मात्र उपलब्ध हुन्थ्यो । ज्ञान स्थिर हुन्थ्यो, हजारौं वर्षसम्म त्यसमा कुनै परिवर्तन हुँदैनथ्यो। यसैले शिक्षकलाई ढुक्क थियो । पछिल्लो सय वर्षमा सबै कुरा अस्तव्यस्त भएको छ । आज एउटा शिक्षक ‘म जे भनिरहेको छु, ठीक भनिरहेको छु’ भनेर आत्मविश्वासपूर्वक भन्न सक्दैन । किनभने पन्ध्र वर्ष पहिला ऊ विश्वविद्यालयबाट पास भएर आएका बेला उसलाई ज्ञानी सम्झिइन्थ्यो ।  पन्ध्र वर्षमा उसका सबै ज्ञानहरू पुराना भएका छन् । तीमध्ये कति त अब ज्ञान नै रहेनन् । आज शिक्षक र विद्यार्थीबीच अक्सर एक घण्टाको मात्रै दूरी हुने गर्छ । शिक्षक एक घण्टा पहिले तयारी गरेर आउँछ, एक घण्टापछि विद्यार्थीहरू पनि त्यति नै कुरा जान्दछन् । उनीहरूबीचको दूरी साह्रै थोरै हुन्छ र उसलाई धेरै आदरणीय मान्न सकिंदैन । आदर दूरीबाट पैदा हुन्छ । कोही शिखरमा उभिएको छ र हामी भुइँमा उभिएको छौं भने सम्मान पैदा हुन्छ । तर अचेल अलिकति अगाडि कोही उभिएको छ भने एकैछिनमा हामी पनि त्यहीं पुग्छौं ।

पहिला हमेसा बाउ छोरोभन्दा ज्ञानी हुन्थ्यो, किनभने ज्ञान अनुभवबाट मात्रै मिल्दथ्यो । एउटा मान्छे असी वर्ष बाँचेको थियो भने उसँग ज्ञान हुन्थ्यो । तर आज हालत धेरै फेरिइसकेको छ । आज उमेरसँग ज्ञानको कुनै सम्बन्ध रहेको छैन । बाउभन्दा बढी छोरो जानकार हुने सम्भावना धेरै बढी छ । किनभने बाउको जान्ने क्रम कहीँ रोकिएको होला र छोरो अहिले पनि जानिरहेको छ । र, बाउले जे जानेको थियो ती सब ज्ञानहरू बद्लिइसकेका छन् । फलतः बाउका खुट्टा पनि कामेका छन् र शिक्षकका खुट्टा पनि कामेका छन् । आज कसैले पनि पहिला जन्मिएको कारण अरू माथि आफ्नो कुरा थोपर्न सक्दैन । यसैले आधुनिक शिक्षकलाई धेरै विनम्र हुनुपर्ने बाध्यता छ । पहिला विनम्र शिक्षकले हुनुपर्दैनथ्यो विद्यार्थीले मात्र विनम्र हुनुपथ्र्यो । शिक्षक अविनम्र नै थियो, निकै जर्कट्टो थियो । ठूलो अहङ्कारले भरिएको थियो 

अब परिस्थिति फेरिएको छ र शिक्षकले विनयी हुनुपर्ने भएको छ । सारा संसारका विद्यार्थीहरू शिक्षकको अविनयी प्रवृत्तिको विरूद्धमा छन् । अबका विद्यार्थीहरूको भनाइ छ, अब शिक्षक शिक्षण संस्थानको केन्द्र बनेर रहँदैन, त्यहाँको केन्द्र त अब विद्यार्थी हुनेछन् ।

https://www.shikshakmasik.com/assets/editor/kcfinder/upload/images/2064/magh_2064/oso.jpg

हिजोसम्म शिक्षक केन्द्र थियो । विद्यार्थी उसको परिधिभित्र थियो, अब स्थिति एकदम बद्लिएको छ । विद्यार्थी केन्द्र हुनेछ, शिक्षक परिधिमा हुनेछ । यदि ऊ पुरानै बानी लिएर हिँड्छ भने शिक्षक र विद्यार्थी बीचको खाडल ठूलो हुँदै जान्छ। त्यो खाडललाई सानो बनाउनु पहिलो आवश्यकता हो । यसका लागि शिक्षकहरूले आदरको विचार छोडेर प्रेमको विचार तिर आउनुपर्छ । मेरो मान्यता छ, आदरभन्दा पे्रम बढी मूल्यवान् छ । किनभने प्रेममा आदर त समाविष्ट छ, तर आदरमा जरूरीरूपले प्रेम समाविष्ट हुँदैन । प्रेम साह्रै ठूलो कुरा हो, आदर त्यति ठूलो कुरा होइन । जसलाई हामीले आदर गर्नु पर्ने हुन्छ, त्यसलाई हामी घृणा नै गर्छौ । तर जसलाई हामी प्रेम गर्छौ, उसलाई हामी गहिरो गरी आदर पनि गर्न थाल्छौं । आदर मागिन्छ भने त्यो अपमान जनक हुन जान्छ । र, आदर थोपरिन्छ भने त्यसले भित्र निषेध र विद्रोह पैदा गर्छ । माथिबाट आज्ञा खन्याइन्छ भने त्यसले आफैंलाई तोड्ने निमन्त्रणा दिन्छ ।

त्यसैले अब शिक्षकले आफ्नो सम्पूर्ण व्यक्तित्वको छविलाई नै फेर्नु जरूरी भइसकेको छ । नत्र शिक्षक र विद्यार्थी दुई वर्ग बन्नेछन् । मजदुर र पूँजीपतिबीच जस्तो तिनको बीचमा पनि सङ्घर्ष हुनेछ । यस विषयमा शिक्षकसँग कुरा हुँदा उनीहरू कडाइका साथ केही थप व्यवस्था गर्नु परयो भन्छन् । शिक्षकको हातमा दण्ड दिने शक्ति बढी हुनुपर्दछ र मात्र हामी अनुशासन राख्न र आदर बचाउन सक्छौं भन्ने उनीहरूको भनाइ हुन्छ । तर जति शक्ति दिइनेछ, त्यति नै विपरीत शक्ति त्यसलाई छिनाल्नका लागि उभिनेछ । किनभने नयाँ स्थितिमा शिक्षकको स्थान पूरै बद्लिएको छ । ऊ अब केन्द्रमा छैन । केन्द्रमा अब विद्यार्थी छ । बाउ केन्द्रमा हुनुहुँदैन, छोरो नै केन्द्र हुनुपर्दछ । किनभने छोरो भविष्य हो र बाउ अतीत । बाउगइसकेको छ, छोरो आइरहेको छ । जो आइरहेको छ, उही केन्द्रमा हुनुपर्दछ, जो गइरहेको छ, ऊ होइन जो तैरिरहेको छ, उही केन्द्रमा हुनुपर्दछ, जो डुबिरहेको छ ऊ होइन ।

नयाँ शिक्षकको काम अब बढीभन्दा बढी भयो भने दाजुको जस्तो हुन्छ, पिताको जस्तो होइन । नयाँ शिक्षक ठीक अर्थमा मित्र हुन्छ गुरु होइन । उसले मीत्रताको कुनै धारणा विकसित गर्नु पर्नेछ । उसले आज्ञा दिने व्यक्तिको अनुहार त्याग्नु पर्दछ । उसले आज्ञा दिने छैन, कडाई गर्ने छैन, ज्यादाभन्दा ज्यादा सम्झउनेछ, बुझाउनेछ, राजी तुल्याउनेछ । राजी भयो भने ठीक छ, राजी भएन भने पनि ऊ रिसाउने छैन । यसैले आजको शिक्षकको अगाडि जुन ठूल्ठूला प्रश्नहरू छन्, ती के हुन् भने उसले शिक्षकका पुराना छविहरू छोड्ने र नयाँ छविहरू विकसित गर्ने गर्नु पर्दछ । उसले विनम्र हुनुपर्दछ ।

हामी भन्थ्यौं– सिक्नका लागि विनम्र हुनुपर्छ । अब यो सूत्रलाई नै बदल्नुपर्छ । अब त, जो विनम्र छ उसले मात्र सिकाउन सक्दछ । वास्तवमा विनम्र नभइकन कसैले पनि सिकाउन सक्दैन । मेरो मान्यता छ, जुन दिन सिकाउने व्यक्ति विनम्र हुनेछ, त्यसै दिन देखि सिक्ने व्यक्ति विनम्र हुनेछ । किनभने सिकाउने व्यक्ति नै विनम्र भएन भने सिक्ने व्यक्ति कसरी विनम्र हुनसक्छ ? सिकाउने व्यक्ति अहिलेसम्म धेरै अविनम्र थियो । पुरानो शिक्षकलाई सम्झ्यिौँ भने भने ऊ कति धेरै नै अहङ्कारले भरिएको थियो भन्ने थाहा पाउँछौं । ऊ निहुँराउँथ्यो, ढो गाउँथ्यो र सबैतिर बाट नयाँ पुस्तालाई झुकाउने कामगथ्र्याे ।

तर अब यो सम्भव छैन र उचित पनि छैन । त्यो व्यवहारले मानिसलाई विकसित हुन दिँदैनथ्यो । हामीलाई कसैबाट अन्धश्रद्धा चाहिएको छ भने पहिले हामीले उस भित्रको विचार को हत्या गर्नु पर्दछ । जो विचार गर्नसक्छ, त्यसले अन्धश्रद्धा दिन सक्दैन । त्यसैले पुरानो शिक्षा अन्धविश्वास र अन्धश्रद्धा माथि निर्भर छ । त्यसबेला विचार गर्ने प्रेरणा दिइन्नथ्यो, विचार लाई रोक्ने चेष्टा गरिन्थ्यो ।

ध्यान रहोस्, विचार विद्रोही हुन्छ । विचार को अर्थ नै विद्रोह हो, किनभने विचार हमेशा इन्कार गर्नु बाट शुरु हुन्छ । जसले ‘नाइँ’ भन्दैन ऊ विचार पनि गर्न सक्दैन । यदि म ‘हो’ भन्छु भने विचार का लागि कुनै ठाउँ रहँदैन । जब म ‘होइन’ भन्छु, तब तर्क गर्नु पर्ने हुन्छ, सोच्नुपर्ने हुन्छ, प्रमाण दिनुपर्ने हुन्छ । ‘हो’ भन्न सजिलो छ । न सोच्नुपर्छ, न तर्क दिनुपर्छ न प्रमाण पुर्‍याउनु  पर्छ ।

 


हामी भन्थ्यौं– सिक्नका लागि विनम्र हुनुपर्छ । अब यो सूत्र नै बदल्नुपर्छ । अब त, जो विनम्र छ उसले मात्र सिकाउन सक्दछ । वास्तवमा विनम्र नभइकन कसैले पनि सिकाउन सक्दैन । जुन दिन सिकाउने व्यक्ति विनम्र हुनेछ, त्यसै दिनदेखि सिक्ने व्यक्ति विनम्र हुनेछ ।


पुराना सबै व्यवस्थाहरूले ‘हो’ भन्न सिकाउँथे । त्यसबाट एउटा फाइदा के थियो भने यी ‘हो’ भन्नेहरूका कारण समाज को विद्यमान व्यवस्था कहिल्यै बदलिंदैनथ्यो । तर ठूलो नोक्सान के थियो भने समाज विकसित हुँदैनथ्यो । यो संसारमा जति विकास भएको छ, त्यो ‘होइन’ भन्नेहरूकै कारणले भएको हो । जसले कुनै गहिरो धरातलमा गएर इन्कार गरेको छ, ऊ विकास को कारण बनेको छ । चाहे त्यो कुनै पनि विधा होस्, चाहे गणित, चाहे दर्शन, धर्म र विज्ञानकै क्षेत्रमा होस्, इन्कार गर्नेहरू नै विकास को आधार बनेका छन् । जसले ‘हो’ भनेका छन्, उनीहरू पुरानो घेरामा बाँचिरहेका छन् ।

पुरानो व्यवस्था एउटा निकास नभएको दहजस्तो थियो । नबग्ने पानी, त्यहीँ जम्थ्यो, कुहिन्थ्यो । घाममा वाफिन्थ्यो रगन्हाउँथ्यो । नयाँ मनुष्यले त्यस तलाउका किनाराहरू भत्काइदिएको छ र त्यसले नदीको रुप लिएको छ । यो रराम्रो कुरा हो । तर नदीबाट हामीले तलाउको अपेक्षा गर्न सक्दैनौँ । तलाउ बन्द भएर एकै ठाउँमा बाँच्दथ्यो, नदी दिनहुँ किनारा बद्लिरहन्छ । दिनहुँ किनारा बद्लिन्छ र पानी बगेर जान्छ ।गङ्गा हिजो जहाँ थियो, आज त्यहाँ छैन । भोलि कहाँ हुनेछ, त्यसको हामीलाई पत्तो छैन

आज पहिलो पटक मनुष्यको चेतना नदी बनेको छ र दिनहुँ अज्ञाततिर दौडिँदैगइरहेछ । शिक्षकको काम थियो– थाहा भएको कुरा बताउनु । अहिलेसम्म तलाउको संसार भएको ले सबै ज्ञात थियो । हजारौं वर्ष देखि त्यही किनारा थियो, उही वृक्षहरू थिए, उही माछाहरू थिए, उही सूर्य थियो । सब बन्द थियो । यसैले शिक्षक ज्ञान दिने काम गथ्र्यो । पुरानो शिक्षकको महत्वपूर्ण काम थियो–बच्चाहरूलाई ज्ञान दिनु । नयाँ शिक्षकको महत्वपूर्ण काम ज्ञान दिनु मात्र हुने छैन, बरू अज्ञातको बोध गराउनु पनि हुनेछ । किनभने बच्चाहरू भोलि त्यहाँ हुनेछन्, जहाँ हामी कहिले पनि थिएनौं । यदि हामीले उनीहरूलाई अतीतको ज्ञान मात्रै दियौँ भने हामीले उनीहरूलाई भविष्यको बालुवा माथि उभिन समर्थ बनाउन सक्नेछैनौँ।

शिक्षकको अगाडि एउटा नयाँ काम आएको छ, उसले अज्ञातको बोध देओस् । उसले हामी के जान्दछौं भन्ने कुरा मात्र नबताओस्, उसले यो पनि भनोस्– हामी जे जति जान्दछौं भोलि त्यो व्यर्थ हुनेछ अनि नयाँ कुरा जान्ने द्वारहरू खुल्नेछन्।

पुरानो शिक्षक एउटा निश्चयमा थियो । आजको शिक्षक एउटा अनिश्चयमा छ । ऊ निश्चित हुन सक्दैन । यदि निश्चित भयो भने मानिसलाई गति दिन सक्दैन । पुरानो शिक्षक भन्थ्यो– ‘म जे भन्छु त्यो ठीक छ र तिम्रो काम त्यसलाई मान्नु हो ।’ नयाँ शिक्षकलाई निकै सापेक्षवादी हुनुपर्दछ । उसले भन्नुपर्दछ– म जे भन्दछु सायद त्यो ठीक छ । अहिलेसम्म ठीक छ, भोलिगलत पनि हुनसक्छ ।

के सूचना दिनु नै शिक्षाको काम हो ? त्यसबाट शिक्षा पर्याप्त हुन्छ ? ध्यान रहोस्, सूचना र ज्ञानमा धेरै फरक छ । सूचना त्यो हो, जुन बाहिरबाट प्राप्त हुन्छ र ज्ञान त्यो हो जुन हामीभित्रबाट आउँछ । अब सूचनाका भरमा मात्र काम चल्दैन । युरोप र अमेरिकामा कलेज र कलेजका कक्षाहरू छोडेर हिँडेका लाखौं युवा–युवतीहरू भनिरहेका छन्, ‘यदि यस्तै हो भने हामीलाई यसको खाँचो छैन । हामीलाई सूचनाले मात्र पुगेन, ज्ञान चाहियो । अनि उनीहरू ज्ञानको खोजीमा चाहिने नचाहिने, अनेक थरिका प्रयोग गरिरहेका छन् । नाथरिका लागूपदार्थ लिइरहेका छन्, समाधि पनि लगाइरहेका छन्, ध्यान पनि गइरहेका छन्, कुनै गुरुको पछि लागिरहेका पनि छन्, उनीहरू अनेक गरिरहेका छन् । उनीहरू भन्छन्– हामी यदि यी सूचनाहरूको सङ्ग्रह हौं भने त यो काम कम्प्युटरले नै गरिदिन्छ, यसको लागि मानिसको के खाँचो ?

शिक्षा बाहिर भएका कुरा मान्छेमा खाँद्नु होइन । टिम्बकटू कहाँ छ, मेडागास्कर कहाँ छ, भन्ने कुरा मानिसको खोपडीमा भर्नुको कुनै ठूलो अर्थ छैन । यो काम कम्प्युटरले नै गर्नसक्छ । मानिसलाई ज्ञान चाहिन्छ । ज्ञानको अर्थ हो– मानिसभित्र जे लुकेको छ, त्यसलाई कसरी हुन्छ पूरै बाहिर प्रकट गर्नु , त्यो कसै गरी प्रकट होस् । मानिसभित्र जुन बीज लुकेको हुन्छ, त्यो फूल बनोस् । सिकाएर मात्र पुग्दैन । बच्चा पाँच वर्षको हुँदा देखि हामी सिकाउन शुरु गर्छौं र पच्चीस वर्षसम्म पनि हामी सिकाइरहन्छौं । र, यदि हामीले विश्वविद्यालयबाट निक्लेको पच्चीस वर्षको व्यक्तिको खोपडीको जाँचबुझ गर्यौ भने हामी पाउँछौं– ऊ कुनै बुद्धिमत्ता लिएर आउँदैन, केवल स्मृतिको संग्रह लिएर बाहिर आउँछ । र, यसैले नै अक्सर के हुन्छ भने विश्वविद्यालयले जसलाई स्वर्णपदक दिन्छ, जिन्दगीले उसलाई माटोको पदक पनि दिंदैन । उनीहरू हराउँछन्, उनीहरू कहाँ जान्छन् भन्ने केही पत्तो हुँदेन ।      

हिन्दीबाट रूपान्तरः गोविन्द वर्तमान

शिक्षक  मासिक, २०६४ माघ अंकमा प्रकाशित ।


यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

1 प्रतिक्रियाहरू
RB
Recomandare Binance

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

error: Content is protected !!
Scroll to Top